काठमाण्डौ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ६ बजे सुरु हुनेछ। मच्छिन्द्र क्लब यसअघि दुई पटक केपी ओली कपको उपाधि जितिसकेको छ।
यसैबीच, प्रतियोगिताका प्रमुख अतिथि रूपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आइपुग्नुभएको छ। बुफोन २००६ को विश्वकप विजेता इटाली टोलीका गोलकिपर थिए।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।











