काठमाडौं । आगामी जेठमा मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेको तीन वर्ष पूरा हुँदैछ । यस अवधिमा उनले केन्द्र सरकारसँग पटक–पटक असहमति जनाएका छन् । अहिले पनि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा बालेन असन्तुष्ट देखिएका छन् ।
२५ अर्ब बजेट रहेको काठमाडौं महानगरमा मेयर बालेनको कार्यकालमा चार कार्यकारी अधिकृत फेरिसकेका छन् । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं छानबिन प्रक्रियामा परेपछि बालेनले नयाँ अधिकृत माग गर्दै पत्र लेखे पनि सरकारको निर्णय आउन सकेको छैन ।
बालेनले प्रधानमन्त्रीमाथि असहयोगको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् । उनले लेखेका स्टाटसहरूले केन्द्र सरकारप्रति उनको असन्तुष्टि झल्काउँछ ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत विवादकै कारण उपमेयर सुनिता डंगोल र मेयर बालेनबीच मतभेद देखिएको छ । डंगोलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी केन्द्र सरकारलाई दोष दिनु उचित नभएको बताएकी छन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यकारी प्रमुख नहुँदा ८० करोडको फाइल रोकिएको छ । नियमित प्रशासनिक काम अवरुद्ध हुँदा महानगरका कर्मचारी प्रभावित भएका छन् ।
सरकारले नयाँ अधिकृत नपठाउनुको कारण भने महानगरकै छानबिन समितिले प्रतिवेदन नबुझाउनु रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले छानबिन रिपोर्ट उपलब्ध गराउन पत्र पठाएको जनाएको छ ।
बालेनले मन्त्रालयलाई पत्र पठाएको दुई महिना बितिसक्दा पनि निर्णय नआएपछि काठमाडौं महानगरको सेवा प्रवाह प्रभावित भइरहेको छ ।