
काठमाडौं । सत्तारुढ नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले अब जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार यसअघि जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो, तर अब स्थायी कमिटी हटाइनेछ ।
साथै, एमालेले जनसंगठनको कमिटी संख्या घटाउने निर्णय गरेको छ । नयाँ व्यवस्थाअनुसार केन्द्रीय कमिटी ९९ देखि १५० सदस्यसम्मको हुने छ भने सबै जनसंगठनका पदाधिकारी संख्या ९ जनामा सीमित गरिने छ ।
यसैबीच, एमालेले नेता–कार्यकर्ताका लागि विदेश भ्रमणसम्बन्धी आचारसंहिता लागू गरेको छ । अब विदेश जानुअघि पार्टीसँग अनुमति लिनुपर्नेछ । साथै, भ्रमणको प्रयोजन र आयोजक संस्थाबारे जानकारी गराउनु पर्नेछ । विदेशमा पार्टी र देशको गरिमा बढाउने भूमिका निर्वाह गर्नुपर्ने र फर्किएपछि विस्तृत प्रतिवेदन बुझाउनुपर्ने महासचिव पोखरेलले जानकारी दिएका छन् ।