काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेका पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्।
राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले “नो केबलकार” समूहले उठाएका विषयप्रति सरकार गम्भीर रहेको भन्दै समस्या समाधानका लागि छलफल आवश्यक भएको बताए। उनले सरकार वार्ता र संवादमार्फत समाधान खोज्न तयार रहेको स्पष्ट पारे।
गृहमन्त्री लेखकका अनुसार केबलकार निर्माणको निर्णय २०७५ पुस १६ गते नै भइसकेको हो। वन क्षेत्रको जग्गा प्रयोग तथा त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिइसकेको उनले बताए। निर्माणाधीन केबलकारको सुरक्षाका लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापनाको निर्णय २०८० माघ २ गते भएको पनि उनले जानकारी दिए।
त्यस्तै, सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए। साथै, सर्लाहीका प्रेम विवाह गरेका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षाको प्रत्याभूति सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री लेखकले विभिन्न विधेयकहरू सदनमा पुगेको जानकारी दिँदै भूकम्पपछिको पुनर्निर्माण कार्य लयमा आएको उल्लेख गरे। सीमित स्रोत साधनका कारण अपेक्षित रूपमा काम नभए पनि सरकार संवेदनशील ढंगले पुनर्निर्माणमा जुटिरहेको उनको भनाइ छ।