काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुक बनाउने वातावरण नबन्दा विकासमा बाधा पुगेको बताएका छन्।
एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक दलले मुलुक बनाउने इच्छा राखे पनि विभिन्न कारणले विकासमा पूर्ण रूपमा केन्द्रित हुन नसकेको बताए।
‘२०७४ सालमा काम गर्ने अवसर आए पनि त्यसबेलाको सरकारले प्रभावकारी रूपमा काम गर्न पाएन। एमाले–माओवादी केन्द्रबीचको एकता कमजोर आधारमा भयो, जसले नेकपा र ओली नेतृत्वको सरकारलाई कठिनाइ सिर्जना गर्यो,’ पोखरेलले भने।
उनका अनुसार देशको आर्थिक अवस्था कमजोर बन्दै गएपछि नेपाली कांग्रेस र एमालेले मिलेर काम गर्न थालेका छन्। ‘अब समय अलमलमा बित्दैन। हाल देखिएका समस्याहरू समाधान गर्न काम भइरहेको छ। नयाँ सरकार बनेपछि आर्थिक सुधारका केही संकेत देखिएका छन्— लगानीको वातावरण तयार हुँदैछ, ब्याजदर घटेको छ, पुँजीगत खर्च बढेको छ, र राजस्व संकलन सुधारोन्मुख छ,’ उनले भने।
महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन नगरी अलग-अलग प्रतिस्पर्धा गर्ने बताएका छन्। ‘साना दलहरूको प्रभावका कारण अस्थिरता रहिरहन्छ। त्यसको अन्त्य गर्नका लागि हामी एक्लै चुनाव लड्ने निर्णयमा छौं,’ उनले स्पष्ट गरे।
कार्यक्रममा पेसागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले मुलुकलाई अस्थिरताबाट बाहिर निकाल्न राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने बताए।