अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामै सीमित

229 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भएको छ। बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल फिफा वरीयतामा आफूभन्दा ४८ स्थान माथि रहेको म्यानमारसँग २–० गोलले पराजित भयो।

नेपालका लागि यो १३औं उपविजेता पद हो। सन् २०१० यता १५ वर्षमा १३ पटक फाइनल खेले पनि नेपाली महिला टोलीले उपाधि जित्न सकेको छैन।

बुधबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले दुई गोल गर्दै नेपाललाई पराजित गर्‍यो। खेलको ६२औं मिनेटमा नो पो खिनले डिबक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। त्यसको दुई मिनेटपछि म्यानमारकी कप्तान विन तुनले हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो।

नेपालले खेलभरि केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो। खेलको १०औं मिनेटमा एन्जिलाले म्यानमारकी यन वादीको प्रहार विफल पारिन्। २४औं मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गरिन्।

नेपालका लागि ३५औं मिनेटमा राम्रो अवसर आएको थियो। रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको बल म्यानमारकी गोलकिपरले बचाइन्। रिबाउन्डमा रेखा पौडेलले प्रहार गरिन् तर त्यो पनि गोलमा परिणत हुन सकेन।

यस हारसँगै नेपाल उपाधि विहीन यात्रालाई अन्त्य गर्न अझै संघर्षरत छ।

सम्बन्धित समाचार

सबै