काभ्रेपलाञ्चोक — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान सबैभन्दा माथि रहेको उल्लेख गर्दै सबै नागरिक त्यसको सीमाभित्र रहनुपर्ने स्पष्ट पारेका छन्।
नमोबुद्ध नगरपालिका वडा नं. १ मा आयोजित वडा कार्यालय, मधुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि नागरिकका अधिकार सुनिश्चित भएका र विकासको गति तीव्र भएको बताए।
मन्त्री सिंहले संघीय प्रणाली कार्यान्वयनसँगै देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै संविधानको पालना गर्नु नै नागरिकको प्रमुख कर्तव्य भएको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो।