शिक्षक आन्दोलन: शिक्षा ऐनको सुनिश्चितता नआएसम्म संघर्ष जारी रहने महासंघको चेतावनी

363 Shares

काठमाडौं — शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षक र कर्मचारीहरू तथा सरकारका प्रतिनिधिबीच आइतबार पनि वार्ता हुने भएको छ। २० चैतदेखि काठमाडौंमा जम्मा भएर शैक्षिक हड्ताल गर्दै आएका शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच बिहीबारदेखि सुरु भएको संवाद शनिबार साँझसम्म पनि जारी रह्यो। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता सकारात्मक भए पनि अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन। “संवाद सकारात्मक छ, तर निष्कर्षमा पुगिएको छैन,” पराजुलीले भनिन्।

उनले शिक्षा मन्त्रालयका अधिकारीहरूले आइतबार अर्थ मन्त्रालयसँग छलफल गरेर फेरि महासंघसँग वार्ता गर्ने बताएका जानकारी दिइन्। यदि मन्त्रिपरिषदबाट शिक्षकका मागबारे निर्णय भयो र शिक्षा ऐन जारी हुने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने संकेत उनले दिइन्।

सत्तारुढ दलहरूले संसद्को आगामी अधिवेशनको पहिलो साता नै ऐन पेस गर्ने प्रतिबद्धता जनाए पनि महासंघले त्यसका लागि विश्वासिलो आधार माग गरेको छ। “संसदको शिक्षा समितिको उपसमितिले छिटो काम सकाएर ऐन जारी हुने भरपर्दो आधार चाहिन्छ,” पराजुलीले भनिन्।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि सरकार गम्भीर भएर शिक्षकका माग सम्बोधन गर्न लागेको दाबी गरे। “आगामी आर्थिक वर्षभित्र सबै समस्या समाधान गर्ने गरी गृहकार्य भइरहेको छ,” उनले बताए। ऐन प्रक्रिया अघि बढिसकेको भन्दै सापकोटाले आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई आग्रह गरे।

तर महासंघले शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेको छ। “आन्दोलन धेरै अगाडि बढिसकेको छ, अब ऐन जारी हुने आधार नभएसम्म आन्दोलन रोकिन्न,” पराजुलीले भनिन्।

सम्बन्धित समाचार

सबै