विकृति र हिंसाका माध्यमबाट परिवर्तन सम्भव छैन : प्रधानमन्त्री ओली

226 Shares

काठमाडौं, ३० चैत । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा तोडफोड, आगजनी, हत्या र हिंसाजस्ता गतिविधि अब कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

शनिबार झापाको दमकमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको प्रदर्शनको उदाहरण दिँदै शान्तिपूर्ण भनी सुरु गरिएको प्रदर्शन हिंसात्मक भएको बताए।

‘शान्तिपूर्ण सभा गर्छौं भनिएको थियो, तर पसल लुटियो, आगजनी भयो, औषधि कारखानामा आगो लगाइयो,’ उनले भने, ‘परिवर्तन गर्ने भनेर स्याउ र रक्सीका बोतल चोरेर भाग्नेहरूले देश बनाउँछन् त?’

ओलीले आन्दोलनको नाममा जनतालाई भड्काएर फाइदा लिने प्रयास भइरहेको आरोप लगाए। उनले भने, ‘जनताले पाखा लगाइसकेको राजतन्त्र फर्काउने सपना देख्नेहरूको शैली र नियत तीनकुनेमा प्रष्ट देखियो। गाडीको हुटमा हात हल्लाउँदै सडक छेउका केही व्यक्तिहरू राजा फर्काउने भन्दै हिँडिरहेका थिए।’

राजतन्त्र फर्काउने भन्दै प्रदर्शनमा उत्रिएकाहरूलाई व्यंग्य गर्दै उनले भने, ‘उनीहरूभन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा केही राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार सधैं विकासमुखी र स्थायित्वका पक्षमा रहेको दाबी गर्दै हिंसा र अव्यवस्था फैलाउने प्रयत्नप्रति कडा आलोचना गरे।

सम्बन्धित समाचार

सबै