धमिलो पानीमा माछा मार्न खोजिँदैछ : मुख्यमन्त्री कार्की

273 Shares

मोरङ, ३० चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ताबाट बाहिरिएका केही लोकतान्त्रिक भनिएका दलहरू राजतन्त्रवादीहरूसँग मिलेर अस्थिरता सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन्।

शनिबार झापाको दमकमा आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकारले छाड्नासाथ केही दलहरू बाहिर सरकार जान्न भन्ने तर भित्रभित्रै ‘धमिलो पानीमा माछा मार्ने’ खेलमा लागेको दाबी गरे। उनले भने, ‘उनीहरू अहिले सरकार ढल्छ र हामीलाई मौका आउँछ भनेर पासो थापेर बसेका छन्। तर, जतिसुकै शक्ति केन्द्र धाए पनि यो सरकार २०८४ सालसम्म टिकिरहन्छ। यो एमाले र काँग्रेसबीच भएको सहमतिको सरकार हो।’

संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको उल्लेख गर्दै उनले शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति नरहेको स्पष्ट पारे। तर, राजतन्त्र फर्काउने नाममा तोडफोड, व्यक्ति हत्या र अन्य अवाञ्छित गतिविधि भइरहेको भन्दै उनले चासो व्यक्त गरे।

केही शक्ति र समूहहरूले जनधार बढाउने नाममा विकास निर्माणमा भएको ढिलासुस्तीको आडमा राजाको नारा उठाइरहेको आरोप लगाउँदै कार्कीले यस्तो ‘कुत्सित मनसाय’ रोक्न जागरणसभा आयोजना गरिएको जानकारी दिए।

सम्बन्धित समाचार

सबै