काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा रहे पनि सरकारमा नरहेको धारणा पुनः दोहोर्याएका छन्। वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ वार्षिक साधारण सभामा बोल्दै उनले सो भनाइ व्यक्त गरेका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा कोइरालाले एमालेसँगको सहकार्यबारे टिप्पणी गर्दै भने, “हामी सत्तामा छौं, तर सरकारमा छैनौं। अहिले हामीसँग सहकार्य गरेको एमाले नै हाम्रो प्रतिस्पर्धी हो। सरकारको कामकारबाहीमा निगरानी राख्दै खबरदारी गर्न जरुरी छ। यदि चुप बस्यौं भने अप्ठ्यारोमा पर्न सक्छौं।”
कोइरालाले संविधान संशोधनको विषयमा पनि पार्टी गम्भीर नभएको बताए। एमाले–कांग्रेस सहकार्यका बेलामा उठेको संशोधनको कुरा पछि सेलाएको भन्दै उनले ढिला नगर्न सुझाव दिए।
उनले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा उठाइएको भए पनि यथार्थमा दण्डहीनता बढ्दै गएको छ। सुशासन देखिँदैन।”
नेता कोइरालाले पार्टीलाई सजग र जिम्मेवार बन्न आग्रह गरे।