रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव चिन्ताजनक : मन्त्री भण्डारी

300 Shares

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा रोजगारीको सम्भावना प्रशस्तै भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

स्वीस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेप-अप’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत मन्त्री भण्डारीले प्रत्येक वर्ष चार लाखभन्दा बढी अदक्ष श्रमिक विदेशिनु परेको उल्लेख गरे ।

उनले रोजगारदाता र श्रमिकलाई प्रविधिमैत्री पद्धतिबाट जोड्ने सरकारको तयारी रहेको बताउँदै रोजगार प्रणालीलाई आधुनिक र सहज बनाउने प्रतिबद्धता जनाए । “हामी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रोजगारदातासँग जोडिने माध्यम बनाउँछौं,” उनले भने, “प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य हो ।”

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वीस कन्ट्याक्टको सहयोगले युवा र महिलालाई उद्यमशीलता तथा रोजगारीतर्फ अभिमुख गराएको बताए । कोइरालाले अझै २३ प्रतिशत युवा बेरोजगार रहेको उल्लेख गर्दै उनीहरूलाई रोजगारीमा जोड्न अझै सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोशी प्रदेशमा परियोजनाले सकारात्मक प्रभाव पारेको उल्लेख गरे भने दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले परियोजनाले दीर्घकालीन असर पार्ने अनुभव सुनाए ।

स्वीस कन्ट्याक्ट नेपालका देशीय निर्देशक सञ्जयध्वज कार्कीका अनुसार, सन् २०२१ फेब्रुअरीदेखि २०२५ मार्चसम्म सञ्चालित ‘स्टेप–अप’ परियोजना हापेल फाउन्डेसन र स्वीस विकास सहयोग (एसडिसी) को प्राविधिक तथा वित्तीय सहयोगमा सञ्चालन भएको हो । परियोजनाले गृहणीहरूलाई उद्यमशीलता तालिम र रोजगारका अवसरमा सहजीकरण गर्दै आएको छ ।

सम्बन्धित समाचार

सबै