शिक्षकको केही माग कानुन नबनाई नै सम्बोधन गर्न सकिन्छ : गगन थापा

274 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका कतिपय मागहरू कानुन नबनाई पनि मन्त्रिपरिषदको निर्णयमार्फत छिट्टै सम्बोधन गर्न सकिने बताएका छन् ।

१० दिनदेखि जारी शिक्षक आन्दोलनबारे भिडियो सन्देशमार्फत महामन्त्री थापाले १५ बुँदे मागमध्ये मर्यादाक्रम, दरबन्दी मिलान, राहतको बिदा सञ्चिति जस्ता विषय तत्काल समाधान गर्न सकिने उल्लेख गरे ।

“यी माग सम्बोधन गर्न धेरै स्रोत चाहिन्न, तर विश्वासको वातावरण बनाउन सहयोग पुर्‍याउँछ,” उनले भने, “बाँकी माग र पूर्वसहमति भएका विषयहरू विधेयकमार्फत पारित गर्न संसद्को अधिवेशन प्रारम्भसँगै प्रक्रिया अगाडि बढाउन सकिन्छ ।”

थापाले वैशाख १८ गतेभित्र शिक्षा विधेयक पारित गर्ने लक्ष्य राखेर शिक्षक महासंघसँगको समझदारी अनुसार काम गर्न सकिने विश्वास व्यक्त गरे । “सांसदहरूले दिनरात नभनी विधेयक टुंग्याउने काम गर्नुपर्छ, त्यसका लागि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित निकायको अग्रसरता जरुरी छ,” उनले जोड दिए ।

शिक्षक आन्दोलनको चपेटामा परिरहेको शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन ढिलाइ भएको स्वीकार गर्दै उनले अघिल्ला सरकारहरूबाट आवश्यक तदारुकता नदेखिएको बताए । “अब सामूहिक प्रयासबाट गल्ती सच्याएर शिक्षकलाई कक्षाकोठामा फर्काउनु जरुरी छ,” उनले भने, “किनभने वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ ।”

सम्बन्धित समाचार

सबै