काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया सुरु गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्च अदालतको आदेशअनुसार जफत प्रक्रिया अघि बढाएको हो।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सम्पत्ति जफतको फैसला सुनाएको थियो। अदालतको आदेशमा साविक ललितपुर नगरपालिका–२ मा खड्काकी श्रीमती शीला शर्मा खड्काको नाममा रहेको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना र कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गाबाट २० लाख ५६ हजार ९८७ रुपैयाँ २ पैसा बराबरको सम्पत्ति असुल गर्ने उल्लेख छ।
जग्गामा खड्काको घर रहेकाले अदालतले घर बाहेकको भागबाट मात्रै रकम असुल उपर गर्न निर्देशन दिएको थियो।











