पाणिनिको जन्मभूमि अर्घाखाँचीलाई देवभूमि घोषणा, प्रधानमन्त्री ओलीको प्रचार–प्रसार र विकासको प्रतिबद्धता

227 Shares

अर्घाखाँची — प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मस्थल अर्घाखाँचीलाई ज्ञान, ध्यान र देवभूमिको रूपमा उल्लेख गर्दै यसको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अर्घाखाँचीलाई विश्वव्यापी रूपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताए। उनले भने, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै संगीत र लयको विकास भयो। पाणिनिको योगदान असाधारण छ।”

उनका अनुसार पाणिनिले संस्कृत व्याकरणका ३,९५९ सूत्रहरू तयार गरेका थिए, जसको प्रयोग आजको कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत भइरहेको छ।

प्रधानमन्त्री ओलीले पाणिनिसहित शिव, ऋषि, पतञ्जलि लगायत महर्षिहरूको तप, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र बनेको यस भूमिको प्रचारप्रसार सरकारको प्राथमिकतामा रहेको बताए।

दुई दिने सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेस नेता डा. चन्द्र भण्डारी, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्मगुरु ज्ञानानन्द सरस्वतीलगायतको उपस्थिति थियो।

सम्मेलन लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा भएको हो।

अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, जहाँबाट उत्तरतर्फ हिमशृङ्खला र दक्षिणतर्फ भारतीय भूमि गोरखपुरसम्म देख्न सकिन्छ। गुराँस र जडीबुटी पाइने यो क्षेत्र पाल्पाको तीनधारेबाट उकालो हिँडेपछि पुग्न सकिने स्थान हो, हाल पक्की सडक सुविधासमेत उपलब्ध छ।

सम्बन्धित समाचार

सबै