काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता क्षेत्र (गोदामघर) निरीक्षण गरेका छन् ।
निरीक्षणपछि मन्त्री लेखकले विपद्को समयमा सबै पक्षले यथासम्भव सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार सरकार विभिन्न निकायमा मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित सामग्री म्यानमार पठाउन तयारीमा छ । ती सामग्री नेपाल वायुसेवा निगमको चार्टर विमानमार्फत यही बुधबार म्यानमार पठाइनेछ ।
गृह मन्त्रालयका अनुसार राहत सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट लगायतका सामग्री समावेश छन् ।
म्यानमारमा चैत १५ गते ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सोही विपद्पछिको सहयोगस्वरूप नेपालले करिब २ करोड ४७ लाख रुपैयाँ बराबरका ४१ टन राहत सामग्री पठाउन लागेको हो ।
यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले नेपाललाई सहयोग गरेको स्मरण गर्दै मन्त्रालयले यो सहयोग पारस्परिक सद्भावको प्रतीक भएको बताएको छ ।