राजतन्त्रको नाममा संक्रमणकाल लम्ब्याउन खोजिँदैछ : ओली

284 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको शपथ लिएर संसदमा प्रवेश गर्ने तर संविधान नमान्ने भन्ने कुरा इमानदारिताको अभाव (खडेरीपन) भएको टिप्पणी गरेका छन्।

फोरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलग’को पहिलो शृङ्खलाको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले विगतको सामन्ती शासनका कारण नेपाल पछाडि परेको उल्लेख गरे। राजनीतिक परिवर्तनपछिका जनअपेक्षाबीच सरकारले विकास र सुशासनको अभियान अघि बढाइरहेको उनको भनाइ थियो।

राजतन्त्र समर्थकहरूतर्फ संकेत गर्दै ओलीले भने, “पराजित सामन्तवाद अझै सक्रिय देखिन्छ। संविधानअन्तर्गत संसदमा आएर संविधान अस्वीकार गर्नु संक्रमणकाल लम्ब्याउने काम हो।” साथै उनले जनताका जायज मागप्रति सरकार संवादमा तयार रहेको भन्दै शिक्षकहरूको आन्दोलनलाई पनि संवादबाट सम्बोधन गरिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपालको भूगोल, प्रकृति र संस्कृति विविधतायुक्त भए पनि त्यसलाई एकताको माध्यम बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले हिमालयले बङ्गालको खाडीको तातो हावा रोकेर जलवायु सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रिय हितमा नेपालले योगदान दिनुपर्ने धारणा राखे।

भू–राजनीतिलाई बहानाका रूपमा प्रयोग गरेर कमजोरी ढाक्ने प्रवृत्ति गलत भएको भन्दै उनले नेपालले कुनै पनि सामरिक गठबन्धनमा नजाने स्पष्ट पारे। “हामी कसैसँग बढी नजिक, कसैसँग टाढा भन्ने नीति अपनाउँदैनौं। शान्तिका पक्षमा दृढ छौं,” उनले भने।

‘हिमालयन डायलग’ को यो पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीति सम्बन्धमा दुई सत्रमा विचार-विमर्श गरेका थिए, फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिए।

सम्बन्धित समाचार

सबै