काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपालले सत्ताको नभई देश र जनताको हितमा काम गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित रेडियो नेपालको ७५औं हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले कुनै पनि राजनीतिक दल वा नेताको गुणगान गाउने होइन, सत्यतथ्य सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्नुपर्ने बताए।
सञ्चारमन्त्री गुरुङले रेडियो नेपाललाई विविधतामा एकता खोजी समावेशी सञ्चार गृहका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए। उनले मुलुकका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने माध्यमका रूपमा यसको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार गर्दै सत्यतथ्य सूचनाको हक प्रत्याभूत गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी तथा गीतसंगीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई सम्मान प्रदान गरिएको थियो।