काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (मंगलबार) बिहान १० बजे सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार जाने भएका छन्। उनीसँगै रास्वपाका सांसदहरू पनि सभामुखको कार्यालयमा जाने छन्।
लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले पुस ८ गते सूचना जारी गर्दै उनको पद निलम्बनमा परेको जनाएको थियो।
तर, रास्वपाले संसद नियमावलीअनुसार सभापति लामिछानेलाई निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ। यसअघि पनि पार्टीले सभामुखलाई भेटेर ध्यानाकर्षण गराइसकेको थियो।
‘हामीले एक महिनाअघि नै निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका थियौं,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘तर अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन। अन्य गम्भीर मुद्दा लागेकाहरू निलम्बन भएका छैनन्, तर हाम्रा सभापति लामो समयदेखि निलम्बनमा हुनुहुन्छ, जुन अन्यायपूर्ण छ।’
सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालय पुगेका थिए। उनले पार्टी बैठकको अध्यक्षता गर्दै राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको आरोप लगाएका छन्।