नेपाल प्रहरीको प्रमुख जिम्मेवारी शान्ति सु–व्यवस्था कायम राख्नु : आईजीपी थापा

325 Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्ति सु–व्यवस्था कायम राख्नु र जनताको जीउधनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिने क्रममा उनले जुनसुकै विषम परिस्थितिमा पनि उच्च मनोबलका साथ उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए।

आईजीपी थापाले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने बताउँदै सूचना संकलन, विश्लेषण र आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न निर्देशन दिए। साथै, सुरक्षा व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।

उनले सीमित स्रोतसाधनको अधिकतम् उपयोग गरी प्रहरी संवेदनशील भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै अवैध हातहतियार ओसारपसार, विष्फोटक पदार्थ ओसारपसार, तस्करी, गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा दृढताका साथ अघि बढ्न निर्देशन दिए।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै