काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरो: युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा उनले समस्याहरूको समाधान गर्दै सरकार अघि बढिरहेको बताए।
प्रधानमन्त्री ओलीले आफूले अघि सारेको ‘डिजिटल नेपाल’ अवधारणाले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको दाबी गरे। साथै, सरकारले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याएको उल्लेख गर्दै भने, “हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं। प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल निर्माणको काम अघि बढायौं। कतिपय बनिसकेका छन्, कति निर्माणको क्रममा छन्।”
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउँदै उनले छोरीहरू चिकित्सक बन्ने सपना देखिरहेको उदाहरण दिए। “कतिपय विशेषज्ञ भइसकेका छन्, कतिपय बन्ने क्रममा छन्। यो अहिलेको उपलब्धि हो,” उनले भने।
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारी सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले युवालाई त्यसतर्फ लाग्न आग्रह गरे।
कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधिसम्बन्धी करिब १४० युवाको सहभागिता थियो। सहभागीहरूले आफ्ना क्षेत्रका समस्या राखेका थिए। प्रधानमन्त्रीले उनीहरूलाई आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस प्रतिवेदन ल्याउन आग्रह गरे। उनले ती सुझावलाई सरकारको आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता जनाए।