हमासले अमेरिकी दाबी अस्वीकार गर्दै इजरायललाई आरोप लगायो

212 Shares

काठमाडौं । हमासले बन्धक रिहा गर्न अस्वीकार गरेर इजरायलसँग युद्ध रोजेको भन्ने अमेरिकी आरोपलाई ‘सत्यको तोडमोड’ भनेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजको दाबीको जवाफमा हमासले विज्ञप्ति निकाल्दै भनेको छ, “हमासले बन्धक रिहा गर्नुको साटो युद्ध रोज्यो भन्ने कुरा तथ्यलाई बंग्याउनु हो।”

अमेरिकाले युद्धविराम लम्ब्याउन हमासले बन्धक मुक्त गर्न सक्ने बताएको थियो। तर, हमासका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै शान्ति प्रयास अस्वीकार गरेका हुन्।

हमासले नेतन्याहूले राजनीतिक स्वार्थका लागि सम्झौता तोडमोड गरेको आरोप लगाएको छ। इजरायलमा बन्धकका परिवारको दबाब र आलोचना बढेपछि नेतन्याहूले हमासलाई दोष दिएर आफ्नो सत्ता जोगाउन खोजेको उसले जनाएको छ।

यसैबीच, इजरायलले मंगलबार गाजामा हवाई आक्रमण पुनः थालेको छ। युद्धविरामका क्रममा खाली गरिएका क्षेत्रमा सेना फिर्ता पठाइएको छ। हमाससँग युद्धविरामको समय लम्ब्याउने विषयमा सहमति नजुटेपछि इजरायलले सैन्य कारबाही थालेको हो।

इजरायलले थप बन्धक मुक्त गर्न र करिब ६० बन्दीको अवस्थाबारे स्पष्टता ल्याउन सैन्य अभियान जरुरी रहेको दाबी गरेको छ। तर, बन्धक परिवार तथा युद्धबाट बाँचेकाहरूले युद्धविरामकै पक्षमा रहेको बताउँदै आएका छन्।

हमासले अमेरिकाले आक्रमणकारीलाई पीडितसँग तुलना गरेको आरोप लगाउँदै भनेको छ, “यसले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीमाथि भइरहेको नरसंहार, भोकमरी र घेराबन्दीमा अमेरिकाको संलग्नता छर्लंग पारेको छ।”

सम्बन्धित समाचार

सबै