विदेशमा काम गरिरहेका नेपालीको सुरक्षा र शव फिर्तीका लागि सांसदको कूटनीतिक पहलको माग

244 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विदेशमा कार्यरत नेपालीको सुरक्षा र त्यहाँ ज्यान गुमाएकाहरुको शव स्वदेश फर्काउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको इराकमा मृत्यु भएको र शव नेपाल फर्काउन आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरे। सांसद डा. चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशभर १५ शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताइन्। उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरिन्।

सांसद दीपकबहादुर सिंहले युवाहरुको विदेश पलायनले मुलुकको अर्थतन्त्र कमजोर भएको बताए। उनले संसदमा यौन व्यवसायको कानूनी मान्यता दिने प्रस्तावलाई आपत्तिजनक ठहर गर्दै राप्रपा सांसद ज्ञानबहादुर शाहीमाथि संसदमा अपमान गरिएको पनि उल्लेख गरे।

सांसद कृष्णकुमार श्रेष्ठले बारा जिल्लाका व्यवसायीहरूलाई अनावश्यक दुःख भोगाउन परिरहेको र सर्लाहीमा अवैध ढुङ्गा र बालुवा खानीमा आपराधिक गतिविधि बढेको विषय संसदमा उठाए।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणले नागरिकको ज्यान जाने र पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने विषय संसदमा उठाए।

सांसद डा. अमरेशकुमार सिंहले दलितमाथि हुने विभेद अझै कायम रहेको उल्लेख गर्दै सीताकुमारी रानाले बाजुरामा गाईलाई खोलामा बगाएर मार्ने घटनामा सरकारको ध्यानाकर्षण गराइन्।

सम्बन्धित समाचार

सबै