मलेसियामा हत्या भएकी तिलमायाको शव ११ महिनापछि नेपाल ल्याइँदै

210 Shares

नवलपरासी । ११ महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–४ की तिलमाया सार्कीको शव आज (सोमबार) नेपाल ल्याइँदै छ। परिवारले लामो समयदेखि पहल गरे पनि प्रक्रिया जटिल बनेपछि शव ल्याउन ढिलाइ भएको थियो।

रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीया तिलमायाको गत वैशाख २९ गते एक पाकिस्तानी नागरिकद्वारा हत्या भएको थियो। श्रीमानसँग सम्बन्धविच्छेद गरेर ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर गएकी तिलमायाको शव नेपाल ल्याउन उनकी ७० वर्षीया आमा धनमाया सार्की महिनौँदेखि विभिन्न निकाय धाउँदै आएकी थिइन्।

यस विषयमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन्।

‘शव बोकेको विमान सोमबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ,’ लम्सालले भनिन्, ‘तिलमायाकी दिदी नीलमाया सार्की शव बुझ्नका लागि काठमाडौँ पुगिसक्नुभएको छ।’

शव नेपाल ल्याउने खर्च मलेसियन कम्पनीले व्यहोर्नेछ भने वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शववाहनमार्फत सोमबार साँझसम्म तिलमायाको माइतीघर कावासोती–४ हसौरामा पु¥याइनेछ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार एक वर्षभित्र आर्थिक सहायता निवेदन दिनुपर्ने भएकाले परिवारले निवेदन दिइसकेको छ। बाँकी कागजात शवसँगै आउने भएकाले पछि बुझाइने सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

सबै