काठमाण्डौ, चैत ४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निष्पक्ष, तटस्थ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा सबै विद्यार्थी सङ्गठनलाई निर्वाचन आचारसंहिताको पालनासहित शान्तिपूर्ण निर्वाचन गराउन अनुरोध गरिएको छ।
विज्ञप्तिमा निर्वाचन आचारसंहिताविपरीतका कार्यहरू कानूनी कारबाहीयोग्य हुने भएकाले यस्ता गतिविधि नगर्न र नगराउन चेतावनी दिइएको छ। साथै, निर्वाचन समितिका पदाधिकारीहरूलाई धम्की दिइएको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ।
यसैबीच, त्रिविले १५ वटा आङ्गिक क्याम्पसलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचन रोकिएका ती क्याम्पस प्रमुखलाई पत्राचार गरी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
निर्देश पाएका काठमाण्डौ उपत्यकाका क्याम्पसहरू – विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोबिचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पस रहेका छन्।
त्यसैगरी, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पक्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहरडाँडा, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।
त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा भोलि स्ववियु निर्वाचन हुँदैछ।