काठमाण्डौ – नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जाको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आज निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले बिना प्रमाण लाञ्छना लगाएको दाबी गरे।
गत फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरूले तारकेश्वर नगरपालिका-९, मनमैजुस्थित सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएका थिए। केसीले उक्त आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रमाणविहीन रूपमा आफूलाई बदनाम गर्न खोजिएको बताए।
सांसदहरूले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले कानूनी उपचारको बाटो अपनाउने चेतावनी दिए। साथै, सरकारी जग्गा कब्जा नगरेको स्पष्ट पार्दै उनले कित्ता नम्बर ६३ सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो निजी स्वामित्वमा रहेको बताए।