सगरमाथा संवादको तयारी तीव्र, उच्चस्तरीय समिति सक्रिय

232 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालित सचिवालयको निरीक्षणपछि प्रधानमन्त्री ओलीले कार्यक्रमको व्यवस्थापन चुस्त बनाउन तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट सन्देश प्रवाह हुने गरी तयारी गर्न निर्देशन दिए ।

संवादका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति पनि गठन गरिएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सरकारले छिमेकी मुलुक भारत, चीनसहित विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । सचिवालयका सदस्य सचिव डा. महेश्वर ढकालका अनुसार छिट्टै पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिइनेछ ।

प्रधानमन्त्री ओलीले यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेका थिए । जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखी सरकारले हरेक दुई वर्षमा यस्तो विश्व संवाद आयोजना गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचार

सबै