नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारी सुनिश्चित गर्न देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै सत्ताको खेल र निर्वाचन केन्द्रित राजनीति भन्दा बाहिर रहेर जनताका समस्या समाधान गर्ने उद्देश्य रहेको बताए।
उनका अनुसार, आन्दोलन बेरोजगारी र कुशासनविरुद्धको क्रान्तिकारी पहल मात्र नभई राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने अभियान पनि हुनेछ।
पहिलो चरणअन्तर्गत चैत २–६ मा मातहत कमिटीहरूमा छलफल, चैत ७–१५ मा विभिन्न क्षेत्रका संघ–संस्था तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन गरिनेछ। चैत २० मा सरकारलाई ज्ञापनपत्र बुझाइनेछ। चैत मसान्तसम्म प्रदेश तथा जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गरी वैशाख ५ मा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइनेछ।
त्यसपछि वैशाख १५ सम्म पालिका तथा वडा तहमा सुझाव सङ्कलन, वैशाख १९-२२ मा पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र पेस गरिनेछ। वैशाख २५ मा आन्दोलनको दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ।
नेकपा (एकीकृत समाजवादी) ले सत्ता केन्द्रित दलहरू नालायक बन्दै गएकाले राजावादीहरूलाई शीर उठाउने अवसर मिलेको आरोप लगाएको छ। महासचिव भुसालले पार्टीको आन्दोलन कुनै चुनावी स्वार्थ नभई जनताको हकहितमा केन्द्रित रहने दाबी गरे। ‘सुशासन र रोजगारी समाजवादको तयारी’ नारासहित सुरू गरिएको आन्दोलन लामो हुने उनको भनाइ छ।