काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । यही १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको विरोध सभाको तयारीबारे छलफल गर्न बैठक बसेको मोर्चाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । यसअघि चैत २४ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित गरिएको छ ।
मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तरक्रियाको कार्यक्रम राखेको छ । फागुन २७ गते बसेको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका कारण राजावादी शक्तिहरू सक्रिय भइरहेको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई चुनौती दिन विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल तथा नेकपा महासचिव नेत्रविक्रम चन्द सहभागी छन् । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा उपस्थित छैनन् ।
यसैबीच, नेकपा एकीकृत समाजवादीले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । सरकार सुशासन कायम गर्न असफल भएको र पुनरुत्थानवादी शक्तिहरू सक्रिय भएकाले मोर्चाले आन्दोलनको घोषणा गर्न लागेको केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । आज दिउँसो १२ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिनेछ ।
फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडपछि समाजवादी मोर्चाले आफ्नो शक्ति प्रदर्शनका लागि तयारी तीव्र बनाएको छ ।