काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग्दै सभामुखमार्फत रुलिङको माग गरेका छन् ।
बुधबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिइयो ।
पाण्डेले घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएको विषयमा सरकारबाट स्पष्ट जवाफ मागे । उनले नाफामा रहेको प्राधिकरणका कार्यकारी निर्देशकमाथि यस्तो निर्णय किन गरिएको हो भनेर सरकारको धारणा आउनुपर्ने बताए । साथै, जबसम्म स्पष्ट जवाफ आउँदैन, तबसम्म प्रतिपक्षी दलहरूको विरोध जारी रहने उनले उल्लेख गरे ।
प्रतिपक्षी दलहरूको मागपछि सभामुख देवराज घिमिरेले सरकारलाई कुलमान घिसिङबारे सदनलाई जानकारी गराउन निर्देशन दिए । उनले सम्बन्धित मन्त्रीहरूलाई विषय स्पष्ट गर्न आग्रह गर्दै, संसदलाई आवश्यक जानकारी गराउन निर्देशन दिएका छन् ।