संवैधानिक आयोग नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

223 Shares

काठमाडौँ – संवैधानिक आयोगहरूमा अध्यादेशमार्फत गरिएको पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। चार वर्षदेखि अलमलिएको मुद्दाको अन्तिम सुनुवाइ गत माघ ३० मा सुरु भएको थियो।

पछिल्लो सुनुवाइमा १५ रिटमध्ये मूल निवेदकका रूपमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए। त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै समय सकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ सूचीमा परेको थियो। आजको बहस ज्ञवालीले नै सुरु गर्नेछन्।

उनको बहसपछि वरिष्ठ अधिवक्ता शम्भु थापा, भीमार्जुन आचार्य, रामनारायण बिडारी, श्रीहरि अर्याल, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलगायतले बहस गर्नेछन्।

१३ संवैधानिक निकायका ६१ पदमध्ये रिक्त ५२ पदमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले अध्यादेशमार्फत नियुक्तिको सिफारिस गरेको थियो।

नियुक्तिको सिफारिस भएलगत्तै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि ३२ जनाको संसदीय सुनुवाइ हुन सकेन। ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा नपर्ने संसदीय नियमावलीको आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ २१ मा ३२ जनालाई र २०७८ असार १० मा थप २० जनालाई नियुक्त गरेकी थिइन्।

सम्बन्धित समाचार

सबै