सरकारद्वारा पाँच अध्यादेश संसद्‍मा पेस, भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढ्ने

264 Shares

काठमाडौं । सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच वटा अध्यादेश पेस गर्ने तयारी गरेको छ । तर, माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढाइने भएको छ ।

भूमिबाहेक अन्य पाँच अध्यादेश दुवै सदनमा पेस गर्न सत्ता गठबन्धनभित्र सहमति जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेशबाहेक अरू अध्यादेश अगाडि बढाउन सहमत भएपछि यो तयारी गरिएको हो,’ उनले बताए ।

सरकारले संसद्‍मा पेस गर्न लागेका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी ऐन संशोधन अध्यादेश रहेका छन् ।

यसअघि प्रतिपक्षी दलहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउँदै आएका थिए । कानुनी प्रावधानअनुसार यी अध्यादेशहरू संसद्‍मा पेस भएपछि ६० दिनभित्र पारित गर्नुपर्नेछ, जसको समयसीमा चैत १७ गतेसम्म रहनेछ ।

सम्बन्धित समाचार

सबै