गरुडा नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण तीव्र गतिमा अघि बढ्दै

268 Shares

रौतहटको गरुडा नगरपालिका, स्थापनाकालदेखि नै भाडाको भवनमा सञ्चालन हुँदै आएको नगरपालिकाले यसै आर्थिक वर्षमा आफ्नै प्रशासकीय भवन पाउने भएको छ।

नगरप्रमुख कन्थमणी जयसवालका अनुसार आगामी असार १० गते नगर परिषद् आफ्नै प्रशासकीय भवनको सभा कक्षमा गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

भूकम्प प्रतिरोधी प्रविधिमा ठूला दुईवटा भवन जोडेर ३३ कोठाको संरचना निर्माण भइरहेको छ। करिब ९ कठ्ठा क्षेत्रफलमा फैलिएको यो भवन रौतहटका सबै स्थानीय तहका प्रशासकीय भवनमध्ये सबैभन्दा ठूलो रहेको नगरप्रमुख जयसवालले जानकारी दिए।

नगरपालिकासँग आफ्नै भवन नहुँदा प्रशासनिक कामकाजमा कठिनाइ भोग्नु परेको र आगन्तुक तथा कार्यालयका सवारीसाधन सार्वजनिक सडकमा पार्किङ गर्नुपर्ने समस्या रहेको उनले बताए।

तीनतले भवनको डिजाइन भए पनि हाल ग्राउन्ड फ्लोरको निर्माणका लागि ३ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता भई तीव्र गतिमा काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताए।

श्रेष्ठ–बटुक भैरव जेभीले निर्माणको जिम्मा लिएको उक्त भवनको गुणस्तर उच्च राखिएको र निर्माण सामग्रीमा कुनै सम्झौता नगरिएको अधिकृत आलमले स्पष्ट पारे।

सम्बन्धित समाचार

सबै