पोखरामा वायु प्रदूषण उच्च, देशकै सर्वाधिक प्रदूषित सहर घोषित

55 Shares

काठमाडौं । पर्यटकीय सहर पोखरामा पछिल्लो केही सातादेखि वायु प्रदूषण अत्यधिक वृद्धि भएको छ। वातावरण विभागका अनुसार पोखरा हाल देशकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ।

गएको आइतबारदेखि पोखराको वायुको गुणस्तर खतराको तहमा पुगेको छ। बिहीबार (फागुन १५) मध्याह्न १२ बजेसम्मको तथ्यांकअनुसार, पोखराको पछिल्लो २४ घण्टाको औसत वायु गुणस्तर सूचक (AQI) ४७८ मापन गरिएको थियो।

विभागका अनुसार सोही अवधिमा हावामा पर्टिकुलेट म्याटर (PM) २.५ को मात्रा ४४६.३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। साथै, टोटल सस्पेन्डेड पर्टिकुलेट (TSP) को मात्रा १०९०.३३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको देखिएको छ।

वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार, टीएसपी उच्च हुनु भनेको स्थानीय प्रदूषणका कणहरू वायुमा अत्यधिक मात्रामा रहेको संकेत हो। “हाल पोखरा देशभरकै सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको छ। स्थानीय स्रोतहरूकै कारण वायुको गुणस्तर बिग्रिएको देखिन्छ,” उनले बताए।

विभागको वायु प्रदूषण मापन केन्द्र रहेको लामाचौर क्षेत्रमा ठूला उद्योगहरू नरहे पनि पृथ्वी राजमार्गको स्तरोन्नति कार्यका कारण पछिल्लो समय धुलो र धुवाँको मात्रा अत्यधिक बढेको छ। यसले गर्दा पोखराको वायु प्रदूषण वृद्धि हुनुका साथै भिजिबिलिटी (देख्न सक्ने क्षमता) पनि घटेको छ।

बिहीबार काठमाडौंको शंखपार्क, धनगढी र धुलिखेलको AQI पनि अस्वस्थकर अवस्थामा पुगेको छ, जसको सूचक १५१ देखि १६८ को बीचमा रहेको छ। अन्य सहरहरूको AQI भने १५० भन्दा कम रहेको छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, AQI ५० भित्र भए स्वस्थकर मानिन्छ। १०१ देखि १५० को सूचक बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर हुन्छ। AQI १५१ देखि २०० पुगेमा सबैका लागि अस्वस्थकर, २०१ देखि ३०० बीचमा अति अस्वस्थकर, र ३०० भन्दा माथि पुगेमा खतरनाक मानिन्छ।

वायु प्रदूषण मापनका लागि मुख्य आधार पीएम १० र पीएम २.५ हुन्। डब्ल्यूएचओका अनुसार, पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्दा वायु अस्वस्थकर मानिन्छ।

पीएम २.५ ले हावामा मिसिएका आँखाले नदेखिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर र नाइट्रोजन अक्साइडको मात्रा जनाउँछ। पीएम १० ले हावामा रहेका धुलोका कणहरूको मात्रा मापन गर्छ।

सम्बन्धित समाचार

सबै