तनहुँ — मुग्लिन–नारायणगढ सडक खण्डको वैकल्पिक मार्ग निर्माण थालिएको छ। हाल सञ्चालनमा रहेको उक्त सडकको विकल्पका रूपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैंडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य अगाडि बढाइएको हो।
सडक विभागले यस कार्यका लागि चालु आर्थिक वर्षमा रु २ करोड ६९ लाख ३२ हजार बजेट विनियोजन गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट ट्रयाक खोल्ने काम भइरहेको छ। विस्तृत अध्ययन (डीपीआर) पूरा भएपछि सडक विभागले पहिलो चरणमा ठेक्का लगाएको हो।
स्थानीयवासीको लामो समयदेखिको माग पूरा भएको भन्दै देवघाटका केशवचन्द्र न्यौपानेले खुशी व्यक्त गरे। मुग्लिन–नारायणगढ सडकको विकल्प आवश्यक रहेको भन्दै स्थानीयहरूले पटक–पटक माग गर्दै आएका थिए। नवलपुरको गैंडाकोट नगरपालिका–३ ब्रिटिस क्याम्प हुँदै देवघाट गाउँपालिका–५ देउपुर जोड्ने यो वैकल्पिक सडकले धार्मिक पर्यटनको पनि विकास गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए।
यसअघि सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको भए पनि बजेट कटौतीका कारण रोकिएको यो योजना पुनः अघि बढाइएको हो। देवघाटका वडाध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार वैकल्पिक सडक बनेमा देवघाट र आँबुखैरेनीका बस्तीहरूलाई विकासको मूलधारमा ल्याउन मद्दत पुग्नेछ।
गैंडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटर दूरी रहेको वैकल्पिक सडक निर्माणले वर्षायाममा मुग्लिन–नारायणगढ सडकमा आउने पहिरोको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयहरूको विश्वास छ।