ट्रम्प प्रशासनको कडाई: अमेरिकाबाट २६ नेपाली डिपोर्ट

235 Shares

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि २६ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ।

ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपतिको शपथ लिएपछि ३६ दिनभित्र २६ नेपालीलाई डिपोर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सिता परियारले जानकारी दिइन्।

डिपोर्ट गरिएका नेपालीहरूलाई अमेरिकी अध्यागमनले विभिन्न आरोप लगाएको छ, जसमा अवैध रूपमा अमेरिका प्रवेश, भिसाविना बसोबास, तथा अन्य आप्रवासनसम्बन्धी नियम उल्लङ्घन मुख्य कारण रहेको छ।

ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई निष्कासन गर्नेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि नेपालीहरू डिपोर्ट हुने क्रम तीव्र बनेको हो। सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो भने ट्रम्पको पुनः नेतृत्वपछि एक महिनामै सो संख्याको झन्डै ७४ प्रतिशत नेपाली डिपोर्ट भइसकेका छन्।

अमेरिकामात्र होइन, अन्य मुलुकहरूले पनि नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएका छन्। सन् २०२४ मा विभिन्न ५६ देशबाट १ हजार २२८ नेपाली डिपोर्ट भएका थिए। तीमध्ये सबैभन्दा बढी यूएई, जापान, मलेसिया, दक्षिण कोरिया, कतार, र टर्कीबाट नेपालीहरू डिपोर्ट भएका छन्।

विशेषगरी अवैध बसोबास, भिसाको अवधि उल्लङ्घन, वा अन्य कानुनी कारबाहीमा परेका कारण नेपालीहरू डिपोर्ट हुने गरेका छन्। पछिल्लो चार वर्षमा मात्र ४ हजार ७१८ जना नेपाली विभिन्न देशबाट डिपोर्ट भइसकेका छन्।

सम्बन्धित समाचार

सबै