माओवादी केन्द्र सरकार फेर्ने पक्षमा छैन : अध्यक्ष प्रचण्ड

248 Shares

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार परिवर्तनको पक्षमा आफ्नो पार्टी नलाग्ने स्पष्ट पारेका छन् ।

झापाको कचनकबलबाट सुरु गरिएको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ को उद्घाटन समारोहमा उनले नेकपा माओवादी केन्द्र अब जनतासँग प्रत्यक्ष रूपमा जाने बताउँदै सत्ता समीकरणको कसरत नगर्ने धारणा व्यक्त गरे ।

‘हामी सरकार फेर्ने पक्षमा छैनौँ, त्यसका लागि कुनै कसरत पनि गर्दैनौं,’ उनले भने, ‘अब हामी जनतासँगै सहकार्य गर्दै अगाडि बढ्नेछौँ ।’ एमाले र कांग्रेससँग सत्ता साझेदारी गर्दा पार्टी जनतासँग टाढिएको स्वीकार गर्दै उनले विगतका कमजोरीको आत्मसमीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सबै जातजाति तथा भाषाभाषीबीचको एकता मजबुत बनाउन अभियान सुरु गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी आम चुनाव माओवादीले एक्लै लड्ने घोषणा गरे । उनले अघिल्लो चुनावमा माओवादीसँग सहकार्य गर्दा एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराउँदै भने, ‘जब हामीले उनीहरुसँग सहकार्य गर्यौं, उनीहरू ठूला बने । तर, जब हामी एक्लै चुनाव लड्यौं, जनताले हामीलाई ठूलो बनाए ।’

उनले झापाका स्थानीयवासीले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कदम नचालेको बताए । साथै, चिया किसान र श्रमिकका समस्याको समाधानका लागि माओवादीले नेतृत्व लिने आश्वासन दिए । अध्यक्ष दाहालले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा सुरु भएको धान सुपरजोन परियोजना अहिले बन्द रहेकोमा चिन्ता व्यक्त गरे ।

कचनकबलबाट सुरु भएको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर सम्पन्न हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै