नागरिकलाई सुशासनको अनुभूति दिलाउने गरि सेवा प्रवाहमा जोड दिन प्रशासनको आग्रह

58 Shares
जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सहभागी रौतहटका कार्यालय प्रमुखहरु

नागरिकलाई सुशासनको अनुभूति दिलाउने गरि सेवा प्रवाहको हालको विद्यमान ढाँचामा थप प्रभावकारिता अभिवृद्धि गर्न रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको कार्यालय प्रमुखको बैठकले सुशासन, सुरक्षा र सेवा प्रवाह सुधारका लागि १४ बुंदे निर्णय गरेको छ ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै सुशासन सुरक्षा र सेवा प्रवाह सुधारमा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
विद्युत चोरी नियन्त्रण तथा बक्यौता असुली कार्यलाई तीव्र बनाउने निर्णय गर्दै सम्बन्धित निकायलाई स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिइएको छ । ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गरिने भएको छ भने सडक सुरक्षामा कडाइ गरिने छ ।
बढ्दो गर्मी, हावाहुरी, चट्याङ र आगलागी जस्ता जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । लामखुट्टेबाट सर्ने रोग नियन्त्रणमा सक्रिय बनाउँदै आवश्यक औषधि तथा उपकरण तयारी अवस्थामा राख्न स्वास्थ्य निकायलाइ भनिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन शाखा प्रमुख राम नरेश साहले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा कालोबजारी, कृत्रिम अभाव र मिसावट रोक्न नियमित अनुगमन कडा बनाइने छ । कृषकलाई समयमै मलखाद्य उपलब्ध गराउने, सहकारी मार्फत वितरण कार्यलाई कडाइका साथ अनुगमन गर्ने तथा हाटबजारलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ । दुषित खाद्य वस्तुको बिक्री वितरण रोक्न पनि विशेष पहल गरिने उहाँले बताए ।
त्यसैगरी, ढुंगा, गिटी, बालुवा उत्खननलाई कानुनी प्रक्रिया र वातावरणीय अध्ययन अनुसार मात्र सञ्चालन गरिनेछ । वन फडानी, डढेलो तथा चोरी निकासी नियन्त्रणका लागि वन कार्यालयलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।
नागरिक नागरिक बीच धार्मिक, जातीय तथा भौगोलिक विभाजन ल्याउने गतिविधि माथि कडा निगरानी राखिने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने निर्णय भएको उनले बताए ।
वन्य जन्तुबाट कृषकको बालीमा भएको क्षति नियन्त्रण गर्न तथा पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय गरिने बैठकमा निर्णय भएको छ ।
बैठकमा राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सबै निकायलाई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारि भुषालले निर्देशन दिएको प्रशासन शाखा प्रमुख साहले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै