हावाहुरीले चन्द्रपुरमा डेढ करोड बराबरको केरा खेती नष्ट

47 Shares

सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठूलो क्षति पुगेको छ । विशेषगरी चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार क्षेत्रमा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसानहरू गम्भीर संकटमा परेका छन् ।
केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित गैडाटारमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका किसानहरूको वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय किसान बाबु योन्जनले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले हजारौँ बोट केरा ढालिदिँदा लगानी, श्रम र समय सबै गुमेको छ ।
स्थानीय किसान डोर प्रसाद धिमालले केरा खेती गर्ने किसानहरूले वर्षेनी प्राकृतिक विपत्तिको सामना गर्नुपरेको बताउनुभयो । “हावाहुरी, रोग तथा कहिलेकाहीँ जंगली जनावरको आक्रमणले समेत खेती नष्ट हुन्छ,” उहाँले भन्नुभयो, “तर बिमा नहुँदा सबै क्षति किसानले आफैंले बेहोर्नुपरेको छ ।”
उहाँका अनुसार केरा खेतीको बिमा गरिनुपर्ने माग पटक–पटक उठाइए पनि सम्बन्धित निकाय तथा बीमा कम्पनीहरूले चासो नदेखाउँदा किसानहरू निराश भएका छन् । जोखिम बढी हुने भन्दै बीमा कम्पनीहरूले केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको किसानहरूको गुनासो छ ।
हावाहुरीका कारण केरा मात्रै नभई मकैबालीमा समेत क्षति पुगेको छ । खेतमा लगाइएको मकै ढलेर नष्ट हुँदा किसानहरू थप आर्थिक मारमा परेका छन् ।
गैडाटार क्षेत्रमा मात्र करिब १०० बिघाभन्दा बढी क्षेत्रमा केरा खेती हुँदै आएको छ । स्थानीय किसान दिपक गौतमका अनुसार यस क्षेत्रमै करिब डेढ करोड रुपैयाँ बराबरको केरा नष्ट भएको हो ।
किसानहरूले स्थानीय तह तथा सम्बन्धित निकायले क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार

सबै