प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहटका चार वटा निर्वाचन क्षेत्रका १२८ जना उम्मेदवारको धरौटि जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उहाँहरूको धरौटि जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । धरौटि जफत हुनेमा नेपाली कांग्रेश,नेपाल कम्युनिस्ट पार्टी (एमाले) ,नेपाली कम्युनिस्ट पार्टी (नेकपा),आम जनता पार्टि लगायतका दल र स्वतन्त्र उम्मेदवार रहेका छन् ।
रौतहट जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कुल १४२ जना उम्मेदवारले मनोयन दर्ता गराएका थिए ।
तीमध्ये १४ जना उम्मेदवारले मात्र धरौटि जोगाउन सफल भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा ३९ जना उम्मेदवार मध्ये ३४ जनाको धरौटि जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनु भयो । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा २६ उम्मेदवार मध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका उम्मेदवारसहित २३ जनाको धरौटि जफत भएको उहाँले बताउनु भयो ।
निर्वाचन क्षेत्र नं. ३ मा ४० उम्मेदवार मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सहित ३७ जनाको धरौटि जफत भएको छ । यस्तै निर्वाचन क्षेत्र नं. ४ मा ३७ उम्मेदवार मध्ये नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र आम जनता पार्टि सहित ३४ जनाको धरौटि जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दाशले जानकारी दिनु भयो ।
रौतहटमा १२८ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल १२ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको उहाँले बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार सहित धरौटि जोगाउन सफल भएका १४ जना उम्मेदवारले प्रक्रिया पुर्याएर माग गरेमा धरौटी रकम फिर्ता गरिने उहाँले भन्नु भयो ।