रौतहटमा शान्तिपूर्ण रूपमा मतदान शुरु

62 Shares

 

रौतहट, फागुन २१ गते / रौतहटमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको छ । मतदानमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भएका छन् । बिहिबार बिहान ७ बजे देखि मतदान शुरु भएको छ ।
बिहान ७ बजे नै मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेको गौर –३ मा रहेको सिंचाई सव डिभिजन कार्यालय मतदान केन्द्र (क) का मतदान अधिकृत तिल कुमारी ढकालले बताए । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशका अनुसार जिल्लाका १८ वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको छ । मतदाता बिहानैदेखि मतदान गर्न पाउँदा उत्साही देखिएका छन् ।
१६ नगरपालिका र दुइ गाउँपालिकाका १ सय ५७ वडामा २ सय ७७ मतदानस्थल र ५ सय ४१ मतदान केन्द्र रहेका छन । रौतहट क्षेत्र नं. १ मा ६७ मतदानस्थल र १ सय ३२ मतदान केन्द्र, क्षेत्र नं. २ मा ७२ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र ,क्षेत्र नं. ३ मा ७७ मतदानस्थल र १ सय ३७ मतदान केन्द्र,क्षेत्र नं. ४ मा ६१ मतदानस्थल र १ सय ३४ मतदान केन्द्र रहेको छ । जिल्ला कारागार गौर,जिल्ला अदालत गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर गरि तीन ठाउँमा अस्थायी मतदान केन्द्र समेत रहेको छ । रौतहटमा चार लाख ३६ हजार ६११ मतदाता छन । जसमा महिला एक लाख ९६ हजार ३४३ , पुरुष दुइ लाख ४० हजार २६७ र अन्य एक जना रहेका छन् ।
रौतहटको चार वटै निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको छ । स्थानीय सुरक्षा कमाण्डरलाई समन्वय गरि कार्यसम्पादन गर्न रौतहट निर्वाचन क्षेत्र नं. १ मा प्रमुख मालपोत अधिकृत छबिलाल नेपाली,हुलाक अधिकृत देवनाथ यादब र पशु चिकित्सक इन्दु राय यादब खटाइएको छ । त्यसै गरि निर्वाचन क्षेत्र नं. २ मा सहायक प्रमुख जिल्ला अधिकारि जितेन्द्र कुमार यादब र प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमलाइ खटाइएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह र शिक्षालय प्रमुख रबिन्द्र आचार्य तथा निर्वाचन क्षेत्र नं. ४ मा सिनियर डिभिजनल ई. दिपक कुमार मिश्र र प्रमुख भन्सार अधिकृत विकास रजकलाइ खटाइएको छ ।

सम्बन्धित समाचार

सबै