धर्मेन्द्र कुमार साह
चरम सुख्खाका बीच रोपाई सकेका रौतहटका किसानहरु यति खेर मल खादको अभाव झेलिरहेको छ । डी.ए. पी को अभावमा रोपाई गरेका किसानहरुलाई अहिले युरियाको लागि डिलरको घर चहार्नु परेको छ । रौतहटमा मल खाद आपूर्ति गर्दै आएको साल्ट ट्रेडिंग कम्पनि गौर र कृषि सामग्री कम्पनि चंद्रपुरले पर्याप्त मात्रामा आपूर्ति गर्न नसक्दा बजारमा किसानले युरिया पाउन सकेको छैन ।
रोपाई सकेको १० दिन देखि २० दिनमा कृषकलाई युरिया मल चाहिन्छ । तर नेपालमा बर्षेनी मल खाधको अभाव हुदै आएको हो । धान खेतमा युरिया हाल्ने बेला भएको छ । तर हरेक बर्ष जस्तै यस बर्ष पनि बजारमा युरियाको चरम अभाव देखिएको छ । रौतहट लगायतका मध्ये तराईका अधिकांश जिल्लामा मलको चरम अभाव देखिएको हो । मलबिनै रोपाइँ गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।
सदरमुकाम गौर रौतहट जिल्लाको दक्षणि पुर्बी क्षेत्रको प्रमुख बजार हो । तर यहा युरिया मल भन्ने उपलब्ध छैन । पछिल्लो समय सम्बन्धित नगरपालिकाले आ आफ्नो नगरपालिकाको लागि भन्दै डिलर मार्फत मलखाद आपूर्ति गर्दै आएकोमा ति डिलरहरुले साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनीबाट पर्याप्त मात्रामा खाद पाउन नसक्दा समस्या देखिएको देव बचत तथा ऋण सहकारीका संचालक लाल बिहारी साहको दावी छ ।
गौर नगरपालिका वार्ड नम्बर ४ निवासी राम सोगारथ चनौ बिगत ३ दिन देखि गौर बजार घुम्दै छन् । उनले २८ किलो युरिया समेत पाउन सकेका छैनन् । उनि बस्ने गौर नगरपालिकाको वार्ड नम्बर ४ का किसानहरुको लागि नगरपालिकाले देव बचत तथा ऋण सहकारी संस्थालाई तोकिदिएको छ । तर उनि तोकेको डिलरको पसलमा जादा समेत मल पाउन नसकेको गुनासो गर्छन । “ डिलरले ११ बजे आउन भनेको थियो , १२ बजे पुग्दा युरिया बाडी सकिएको जवाफ दिन्छ । खेतमा बालीलाई युरिया नदिए उबज्नी होला जस्तो छैन ।” उनको गुनासो छ ।
अर्का किसान बिन्देसर सहनीको कथा पनि त्यस्तै छ । “डिलरले बोलाएको समयमा पुग्दा समेत सबै मलखाद बाडी सकेको जवाफ दिन्छ ।” उनि दावी गर्छन ।
यस सम्बन्धमा सम्बन्धित डिलर लाल बिहारी साहले आफुले गौर नगरपालिकाको वार्ड नम्बर २,३, ४ र ६ को लागि भनि १४९ बोरा छुट्याइएको र वार्ड नम्बर ४ को लागि ४९ बोरा छुट्याइएकोले मांग बमोजिमको आपूर्ति गर्न नसकेको बताए । उनले ४०० बोरा आवस्यक रहेको तोलाको लागि ४९ बोरा युरिया उपलब्ध गराइएकोले किसानहरुको गुनासो सम्बोधन गर्न नसकिएको स्वीकार गरे ।
गौर नगरपालिकाको लागि साल्ट ट्रेडिंग कम्पनि गौरले ३४५ बोरा युरिया खाद उपलब्ध गराएको थियो ।
राजदेवी नगरपालिका वार्ड नम्बर ४ बसतपुरका राधेश्याम साहले ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको बताउछ । “खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन । पहिला पहिला राजदेवी नगरपालिकाको ब्रह्मपुरी र लक्षमिपुर मा भारतबाट अवैध रूपमा भित्र्याइएको मल पाइन्थ्यो । यस वर्ष भारतबाट समेत मल आउन सकेको छैन ।” उनले बताए ।
उनले रोपाईको बेला आवस्यक डी ए पी मल अहिले पाउने तर अहिले आवस्यक युरिया नपाउदा उब्जनी घट्ने निश्चित रहेको दावी गरे ।
अभाव चरममा, गरुडामा युरिया लुटपाट
मलखादको चरम अभाव भएसंगै बाडिदै गरेको युरिया लुटपाट भएको छ । रौतहटको गरुडामा रहेका एक सहकारी संस्थाले मंगलवार आफ्नै कार्यालयबाट युरिया वितरण गरिरहेको अवस्थामा युरियाको लागि पुगेको भिड अन्यन्त्रित हुदै ५० बोरा भन्दा धेरै युरिया लुटपाट गरेको हो । लुटपाटको घटना भए संगै नगरपालिकाले साल्ट ट्रेडिंग कम्पनि गौरले उपलब्ध गराएको मल तत्काल बाड्न नसकिने निष्कर्ष निकालेको छ । गरुडा नगरपालिकाले अनौपचारिक निर्णय गरि पछि गरुडा नगरपालिकाको लागि साल्ट ट्रेडिंगले छुट्याएको मल गोदाममै थन्केको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनि जैसवालले शुक्रवार लुटपाट भएको भनिएको घटना सम्बन्धमा छिनोफानो हुने भएकोले त्यस पछी मात्रै मलखाद बुझ्ने मनस्थिति बनाए पछी गरुडाको लागि छुट्याएको खाद गोदाममै थन्केको हो ।
कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक अनुसार रौतहट जिल्लामा १० हजार मेट्रिक टन युरिया र ६ हजार मेट्रिक टन डी.ए.पी को आवस्यकता रहेको कार्यालय प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए । तर मांग बमोजिमको आपूर्ति हुन् नसक्दा किसानहरु पिडित बनेका हुन् ।
अन्तर जिल्ला तसकारी अर्को समस्या
रौतहट जिल्लामै मलखादको अभाव भैरहदा यहाबाट हुने अन्तर जिल्ला तस्करी अर्को समस्या बनेको छ । खासगरी सर्लाही लगायतका जिल्लाहरुमा रौतहटबाट मलखादको तस्करी हुदै आएको एक जना डिलरले नाम सार्वजनिक नगर्ने सर्तमा बताए । “धर्मपुर स्थित बागमतीको पुलमा मात्रै निगरानि बढाइए डी.ए.पी. अभावको समस्या आधाले घट्छ ।” उनले दावी गरे । पछिल्लो समय डिलरहरुले अभाव देखाई महंगो दरमा सर्लाही तस्करी गर्न थालेको छ । अनुगमन गर्ने जिम्मेवारी पाएका नगरपालिका कार्यालयहरुले पर्याप्त अनुगमन नगरिदिदा तस्करी बढेको स्थानीय भोला पण्डितले आरोप लगाए ।
मल बितरणमा प्रदेश मल ब्यबस्थापन समितिले विभेद गरेको स्थानीयको दावी
मल वितरणको लागि प्रदेश स्तरमा मल ब्यबस्थापन समिति हुन्छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको उक्त समितिको सिफारिसको आधारमा साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनीले स्थानीय तहहरुलाई मलखाद बिनियोजन गर्छ । सोहि बमोजिम स्थानीय तहहरुले कृषि भुमिको तथ्यांक अनुसार वार्डहरुलाई मलखादको बिनियोजन गर्दै साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनिलाई सिफारिस गर्छ । मधेश प्रदेश स्थित रहेका मल ब्यबस्थापन समितिको श्रावन १८ गते बसेको बैठकले साल्ट ट्रेडिंग कम्पनि बिरगंजबाट प्राप्त हुने ५५२४.१० मेट्रिक टन युरिया मध्ये सिरहा र सप्तरीको लागि १९३२.५३ मेट्रिक टन र बाकि ६ जिल्लाको लागि ३५९१.५७ मेट्रिक टन युरिया उपलब्ध गराउने निर्णय गरे संगै सो निर्णयको ब्यापक बिरोध भएको छ । सबै जिल्लालाई समान रुपमा वितरण गर्नुको सट्टा तजबिज देखाएको र रौतहट लगायतका ६ जिल्ला संग भेदभाव गरिएको भन्दै डिलरहरुले आपति जनाएका छन् ।
रौतहट जिल्लामा साल्ट ट्रेडिंग कम्पनि गौरबाट ११८ ओटा डिलरहरु तथा कृषि सामग्री कम्पनि चंद्रपुरबाट २०३ डिलरहरुले जिल्ला भरि मलखादको आपूर्ति गर्ने जिम्मा पाएको छ । कृषि सामग्री कम्पनीले गत आर्थिक वर्षमा रौतहट जिल्लामा ५९२९ मेट्रिक टन युरिया र ४१३४.३ मेट्रिक टन डी.ए.पी वितरण गरेको कार्यालयले जनाएको छ भन्ने साल्ट ट्रेडिंग कम्पनि गौरले यो सिजनमा ३ लौटमा गरि ३८९८ मेट्रिक टन युरिया बाडेको कार्यालय प्रमुख बामदेव मिश्राले बताए ।