चन्द्रनिगाहपुर/११ ,साउन / भगवान् शिवलाई चढाउन जल लिन आएका दुई भारतीय युवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डुबेर बेपत्ता हुनु भएका एक युवकको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ ।
भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका २४ वर्षीय नितिश कुमार राउत सहित दुई जना साउन ९ गते बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बेपत्ता भएका थिए ।
राउतको शव बागमती सिँचाइ आयोजनाको मुख्य नहरको पश्चिम साइडको ‘एच’ नम्बर गेटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताउनु भयो ।
यसअघि बिहारको सीतामढी जिल्ला ग्राम जमुआहा-१ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनिबार झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा फेला पारिएको प्रवक्ता रायले जानकारी दिनु भयो ।
मृतकको सनाखत भइ सकेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।