रौतहटर/३२,असार /रौतहटको गौर नगरपालिकामा मंगलवार राति एक वडाध्यक्षले संचालन गरेको पसलमा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–२ भन्सार रोडमा संचालित लालबाबु सु–सेन्टरको सटरमा लगाइएको ताल्चा फुटाएर पसलमा राखिएको नगद २ लाख ६० हजार रुपैया र सिसिटिभी क्यामेरा चोरी भएको छ ।
गौर नगरपालिका –१ का वडाध्यक्ष लालबाबु चौधरीले संचालन गर्नु भएको उक्त सु–सेन्टरमा भएको चोरीको अनुसन्धान भइरहेको तथा चोर समुहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।
यसै घटनालाई लिएर गौर नगरपालिका प्रमुख शम्भु साहले रौतहटको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न चिन्ह् खडा गर्नु भएको छ । नगरको मुख्य बजार नै सुरक्षित नरहेको अबस्थामा अन्य भागको अवस्था सहजै अनुमान गर्न सकिने भन्दै नगर प्रमुख साहले प्रहरीको सुरक्षा ब्यवस्था फितलो रहेको बताउनु भएको छ । दिनहुँ मोटरसाइकल चोरी, ताल्चा फुटाएर घर, पसलमा चोरी भए पनि जिल्ला प्रहरी कार्यालय गम्भीर नभएको नगर प्रमुख साहको आरोप रहेको छ ।