रौतहट , असार १ गते ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ को कार्यालयले असार १ गते आइतवार देखि बिहान ७ बजेबाट सेवा दिन शुरु गरेको छ ।
दिनहुँ बढदो अत्यधिक गर्मीका कारण सेवा लिन आउने सेवाग्राहीलाई परेका समस्यालाई ध्यानमा राख्दै कार्यालयको सेवा समय परिवर्तन गरिएको वडा अध्यक्ष सहदेव केसीले जानकारी दिनु भयो ।
वडाले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय मधेश प्रदेश भर परेको प्रचण्ड गर्मीका कारण सेवाग्राहीहरू बेहोस हुने , मुर्छा पर्ने लगायतका अन्य समस्या आउने भएको कारण सेवाग्राहीहरुको जनगुनासो लागि सम्बोधन गर्दै असार १ गते आइतवार देखि मौसम सुधार नभए सम्म बिहान ७ बजेदेखि ११ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
वडा अध्यक्ष केसीका अनुसार संघिय कानुन अनुसार १० बजे देखि ५ बजे सम्म कार्यालय सम्म रहेकोले सो समयमा समेत कुनै सेवाग्राही सेवा लिन आए सेवा दिइने बताउनु भयो ।
नयाँ कार्यतालिका वडाबासिको सुबिधाको लागि स्थानिय सरकार भएको नाताले प्रदान गरिएको वडा अध्यक्ष केसीको तर्क छ ।
आइतवार छोराको जन्मदर्ता बनाउन आउनु भएका चन्द्रपुर–६ का अजय कुमार साहले वडा कार्यालयको यो निर्णयले वडाको आम जनताको भावनालाइ सम्बोधन गरेको बताउनु भयो ।