गाजा युद्धको विरोध गर्ने १००० इजरायली सैनिक बर्खास्त, देशभर हलचल

74 Shares

तेलअविव । गाजामा जारी युद्धको विरोध गर्दै आवाज उठाएका करिब १००० जना इजरायली रिजर्भ सैनिकहरूलाई बर्खास्त गरिएको घटनाले इजरायलमा ठूलो हलचल मच्चिएको छ । युद्ध अब राजनीतिक उद्देश्यका लागि भइरहेको भन्दै ती सैनिकहरूले बन्धकहरूको रिहाइलाई प्राथमिकता दिन युद्धविरामको माग गरेका थिए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले वायुसेना तथा सेनाका उच्च अधिकारीहरूको निर्णयअनुसार यी सैनिकहरूलाई बर्खास्त गरेको हो । यो कदम इजरायली इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा सैनिक बर्खास्त गरिएको घटना भएको बताइएको छ ।

बर्खास्त गरिएका अधिकांश सैनिकहरू गाजा र लेबनानमा सक्रिय रहेका थिए । उनीहरूले सरकारलाई पठाएको पत्र सार्वजनिक गर्दै गाजाको युद्ध अब सैन्य नभई राजनीतिक लाभका लागि प्रयोग भएको आरोप लगाएका थिए । पत्रमा उल्लेख थियो, ‘यो युद्धले न बन्धकहरू बचाउन सकेको छ, न हमासलाई नष्ट गर्न । बरु अझ बढी निर्दोष मानिसहरूको मृत्यु भइरहेको छ ।’

उक्त पत्रमा सयौं सेवानिवृत्त सैनिक तथा अधिकारीहरूले हस्ताक्षर गरेका थिए, जसमा वरिष्ठ रिजर्भ नेभिगेटर अलोन गुर पनि छन् । उनलाई यसअघि नै बर्खास्त गरिसकिएको थियो । इजरायली सेनाले यस्तो विरोधलाई ‘अनुशासनहिनता’ भनी आलोचना गरेको छ । एक आईडीएफ प्रवक्ताले भने, ‘हामी अहिले धेरै मोर्चामा लडिरहेका छौं । यस्तो बेला यस्ता गतिविधिले सैन्य एकतालाई कमजोर बनाउँछ । हाम्रो पहिलो प्राथमिकता भनेकै देशको सुरक्षा हो ।’

सरकारले बर्खास्तीको अवधि र विस्तृत विवरण हालसम्म सार्वजनिक नगरेको भए पनि, यो घटनाले इजरायली राजनीतिक तथा सैनिक वृत्तमा चर्को बहस र चिन्ता उत्पन्न गराएको छ ।

सम्बन्धित समाचार

सबै