सियोल — दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलविरुद्ध अल्पकालीन सैनिक शासन लागू गर्न खोजेको आरोपमा सोमबार फौजदारी मुद्दा दर्ता हुने भएको छ।
गत डिसेम्बर ३ मा युनले देशमा राजनीतिक गतिविधि र सञ्चारमाध्यमको स्वतन्त्रता सीमित गर्ने आदेश जारी गरेपछि देशमा सैनिक शासन जस्तै अवस्था सिर्जना भएको थियो। यद्यपि, विपक्षी सांसदहरूको विरोधपछि उक्त आदेश ६ घण्टामै स्थगित गरिएको थियो।
यस घटनालाई ‘संवैधानिक व्यवस्था विपरीतको प्रयास’ भन्दै दक्षिण कोरियाली संसद्ले युनमाथि महाभियोग लगाएको थियो। अप्रिल ४ मा संवैधानिक अदालतले उनलाई राष्ट्रपतिको पदबाट पूर्ण रूपमा हटाउने आदेश दिएपछि युन पदमुक्त भएका थिए।
फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइमा युनका वकिलहरूले हिरासत प्रक्रियामा त्रुटि भएको भन्दै उनको रिहाइको माग गरेका थिए, जुन अदालतले स्वीकृत गर्दै ५२ दिनपछि उनलाई रिहा गर्यो। उनी राष्ट्रपति पदमा रहँदै पक्राउ पर्ने पहिलो कोरियाली राष्ट्रपति बनेका थिए।
यदि विद्रोहको आरोपमा दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्ड समेत हुन सक्छ। युनले शुक्रबार राष्ट्रपति निवास छाड्दै सियोलस्थित निजी निवास फर्किएर समर्थकहरूलाई धन्यवाद दिएका थिए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब म गणतन्त्र कोरियाको एक साधारण नागरिकको हैसियतमा देश र जनताको सेवाका लागि नयाँ बाटो खोज्नेछु।”
युनको पदमुक्तिसँगै अब दक्षिण कोरियामा आगामी जुन ३ मा मध्यावधि राष्ट्रपति निर्वाचन हुनेछ। त्यसअघिसम्म देशको नेतृत्व कार्यवाहक राष्ट्रपति हान डक–सोले गर्नेछन्।