स्थिरता र सुशासनका लागि एमाले–कांग्रेसको संयुक्त सरकार बनेको हो : उपमहासचिव ज्ञवाली

59 Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको दिशामा अगाडि बढेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा उपमहासचिव ज्ञवालीले देशलाई स्थिरता र सुशासन दिनकै लागि एमाले र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनेको बताए ।

उनले मुलुकलाई अस्थिरतातर्फ लैजान विभिन्न षड्यन्त्रहरू भइरहेको उल्लेख गर्दै ‘राजावादी’को नाममा काठमाडौँमा हालै भएको घटना त्यसकै उदाहरण भएको बताए ।

“अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएसँगै मुलुक स्थिरताको कोर्समा गएको घोषणा गर्नुभयो, त्यसपछिदेखि मुलुकलाई अस्थिर बनाउने गतिविधिहरू सुरु भए,” उनले भने ।

पार्टीको जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले राजनीतिमा युवाको सहभागिता आवश्यक रहेको बताउँदै एमालेले युवा लक्षित अभियान सञ्चालन गरिरहेको जानकारी दिए । यस वर्षको पार्टी स्थापना दिवस कार्यक्रमसमेत युवामै केन्द्रित गरिएको उनले बताए ।

स्थायी कमिटी सदस्यसमेत रहेका ढकालले पार्टीका सबै जनसङ्गठनलाई वैशाख ९ गतेको स्थापना दिवस र वैशाख ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन आह्वान गरे । बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमसहित विभिन्न जनसङ्गठनका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सबै