चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेले देशमा ठूला परिवर्तन गरेको बताएका छन्। आइतबार चितवनमा आयोजित प्रेस चौतारी नेपाल वागमती प्रदेश समितिको दोस्रो अधिवेशन उदघाटन गर्दै उनले २०४६ सालको आन्दोलनदेखि गणतन्त्र घोषणासम्म कांग्रेस र एमालेको सहकार्य मुख्य रहेको बताए।
उनले नेपालमा दुई ध्रुवीय राजनीतिक अवस्था रहेको उल्लेख गर्दै एक पोलको नेतृत्व एमाले र अर्को पोलको नेतृत्व कांग्रेसले गरिरहेको स्पष्ट पारे। ‘हामी स्वतन्त्र प्रतिस्पर्धा गर्छौं, कसैसँग मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्छौं,’ उनले भने।
पोखरेलले वामपन्थी नाममा दक्षिणपन्थी चरित्र बोकेका शक्तिहरूसँग एमालेले एकता नगर्ने बताए। ‘एमालेमा आउन चाहनेलाई स्वागत गर्छौं, तर वामपन्थी एकता सम्भव छैन,’ उनले भने।
एमालेलाई कमजोर बनाउने प्रयास राष्ट्र, राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर बनाउने प्रयास हुने उनको तर्क छ। एमाले बलियो राष्ट्रिय शक्ति भएकाले यसलाई अझ मजबुत बनाउन जराकेन्द्रित अभियान सुरु गरिएको पोखरेलले बताए।
उनले एमालेमाथि लगाइएका आरोप असत्य रहेको दाबी गर्दै ‘भ्रष्ट मानसिकता भएका र जहाँसुकै गुनासो गर्नेहरू एमाले हुन नसक्ने’ बताए। ‘एमालेमा कुनै गुट उपगुट छैन, न त भ्रष्टाचार स्वीकार्छ, न नै निराशावादीहरूलाई पार्टीमा ठाउँ दिन्छ,’ पोखरेलले स्पष्ट पारे।