बेइजिङ । चीनले अमेरिकासँग चर्किँदो व्यापार युद्धको बीचमा आफ्ना नागरिकलाई अमेरिका यात्रा नगर्न वा अत्यन्त सावधानीका साथ यात्रा गर्न सुझाव दिएको छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको एड्भाइजरीमा अमेरिका यात्रा गर्नुअघि जोखिमको मूल्याङ्कन गरी सोचविचार गरेर मात्र निर्णय लिन भनिएको छ।
मन्त्रालयले चीन–अमेरिका व्यापारिक तनाव र अमेरिका भित्रको सुरक्षा अवस्थालाई मुख्य कारणको रूपमा उल्लेख गरेको छ। यसै क्रममा चीनको शिक्षा मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गर्दै अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सम्भावित सुरक्षा जोखिमबारे सोच्न आग्रह गरेको छ।
चीन र अमेरिका बीचको व्यापार युद्ध तीव्र बनेसँगै दुई देशले एकअर्काका सामानहरूमा क्रमशः भन्सार महसुल वृद्धि गर्दै आएका छन्। अमेरिकी प्रशासनले चिनियाँ सामानमा महसुल बढाएपछि चीनले जवाफी कदमस्वरूप अमेरिकी वस्तुमा महसुल ८४ प्रतिशत पुर्याएको थियो। यसको प्रतिकारमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा महसुल थप बढाएर १२५ प्रतिशत पुर्याएका छन्।







